Thursday, February 21, 2019

फिल्म क्षेत्रमा चर्चामा रहेका फिल्मकर्मीका छोरा–छोरी

विरासतबाट आफ्नो पहिचान स्थापित हुनु धेरै सजिलो छ । पुर्खा बिँडो थाम्दै सोहि बाटोमा आउनु त सहजै होला तर सफलता र निरन्तरता दिनु चाँहि चुनौति हुन्छ । नेपाली रजतपटमा स्थापित हुन चाहनेको लाम पनि लामै छ । आखिर ग्ल्यामरलाई अंगालेर सेलिब्रेटी बन्न नचाहने को होला र ? फिल्म क्षेत्रमा आउन कुनै बाटो र मेलोमेसो नपाएर दिनरात भौतारिरहेकाहरु पनि प्रशस्तै छन् । फिल्म क्षेत्रमा डेब्युकै लागि निर्माता–निर्देशकको ढोका ढकढक्याउँदा ढकढक्याउदैै गुमनाम भई हारेकाको कथा सतहमा आउने गर्दैनन् नै । तर, कोही यति भाग्यमानी पनि छन् कि जसलाई फिल्ममा डेब्यु गर्न ठूलो मिहिनेत गर्नै पर्दैन या भनौ विरासतले नै उनीहरुको गन्तव्य पहिल्याइदिएको हुन्छ । यसै प्रसंगमा आफ्नो पारिवारिक पृष्ठभुमि फिल्मी उद्योगकै भएकै कारण धेरैले सजिलोसँग फिल्ममा ‘डेब्यु’ पनि गरेका छन् । यस्तै मध्ये धेरैले उद्योगमा आफ्नो छाप छोडिसकेका छन भने कोहि मेहनतको वावजुत पनि उद्योगमा जम्न सकेनन् । क्षमता, योग्यता र दक्षता छ भने गोरेटो पाउनेले दुत्रमार्गनै तय गर्दछन् । उनीहरुको गति ‘हाइवे’मा हुँईकिन्छ, जसलाई विरासतको विर्को खोल्न आवश्यक पर्दैन । आज हामी फिल्म उद्योगमा स्थापित हुन कुनै न कुनै रुपमा विरासतको साहारा लिएका कलाकारहरुको बारेमा कुरा गर्दैछौ ।
अनमोल केसी
हुन त अनमोल आफ्नै बलबुतामा स्थापित भएका हुन् । तर, उनलाई फिल्म क्षेत्रसम्म ल्याउने बाटो भने उनका बाबु भुवन केसी र आमा सुस्मिता बम्जनले नै कोरिदिएका हुन् । हुन त होस्टलबाट ‘डेब्यु’ गरेका अनमोलले आधा दर्जन फिल्ममा पनि मुहार देखाएका छैनन् तर उनको चर्चा भुवन केसीको भन्दा माथि राखेर गर्न थालिएको छ । हाल फिल्मी क्षेत्रमा अनमोलको जत्तिको ‘फ्यान फलोइङ’ सायद अरुको छैन । फरक लुक्सका कारण उनलाई पछ्याउने मात्रै हैन उनीसँग अन्स्क्रिन रोमान्स गर्न चाहने स्थापित हिरोइनको लाइन नै लागेको छ । उनलाई फिल्ममा लिनका लागि निर्माताहरु सजिलै ५० लाखको बोली लगाउन तयार छन् । यसका साथै सेलेक्टेड फिल्म मात्र गरिरहेका अनमोलको बढ्दो साखलाई जोगाउन भुवन आफैं पनि सक्रिय छन् ।
केकी अधिकारी
बौद्धिक नायिकाको रुपमा चिनिने केकी अधिकारी आफैं आफ्नो पहिचान बनाएकी नायिका हुन् । उनी निर्देशक बद्री अधिकारीका छोरी हुन् । उनले फिल्म क्षेत्रमा पाइला चाल्दा निर्देशक बद्री अधिकारीको छोरीका रुपमा नै ‘स्वर’बाट डेब्यु गरेकी थिइन् । अहिलेका चल्तीका हिरोइनमा केकीको नाम अग्रपंक्ति आउँछ । उनलाई फलो गर्ने फ्यानको संख्या सानो छैन । अहिले ‘कोहलपुर एक्सप्रेश’बाट निर्मात्रीका रुपमा डेब्यु गरेकी केकीले फिल्म क्षेत्रमा आएदेखि पछाडि फर्किएर हेर्नुपरेको छैन । सालिन स्वभावकी उनि अहिलेसम्म कुनै विवादमा नमुछिएका कारणले उनलाई मन पराउने दर्शकको जमात ठूलै छ ।
सलोन बस्नेत
रजतपटमा कम उमेरको पाका कलाकार हुन सलोन बस्नेत । पाका यस अर्थमा कि उनको रजतपट यात्राले दुई दशक टेकेको छ । उनी बालकलाकरका रुपमा नै स्थापित थिए । निर्माता–निर्देशक शोभित बस्नेतका छोरा सलोनको चर्चा बाल्यकालदेखि नै भयो । ‘नेपाली बाबु’बाट बालकलारका रुपमा फिल्म क्षेत्रमा आएका सलोन अहिले नेपाली फिल्म क्षेत्रका चल्तीका स्टार नै हुन् । केहि फिल्महरुमा बालकलाकारको भूमिका निभाएका उनी फिल्म ‘होस्टल’बाट नायकका रुपमा आए । त्यही फिल्म उनको फिल्मी यात्राको ‘टर्निङ प्वाइन्ट’ बन्यो । हाल उनले आफ्नो अभिनय कौशलका कारण लगातार फिल्महरु हात पारिरहेका छन् ।
गौरव पहाडी
रजतपटमा आफ्नो छुट्टै पहिचान बनाउन कस्सिएर लागेका अर्का कलाकार हुन् गौरब पाहाडी । रंगमञ्चका अभिनेता टिका पाहाडीका सुपुत्र हून् गौरव, मञ्जरी फिल्मबाट डेब्यु गरेका गौरबले झण्डै आधा दर्जन फिल्म खेलिसकेका छन् । अहिले उनी अलग परिचय बनाएर फिल्म क्षेत्रमा जम्नका लागि संघर्ष गरिरहेका छन् । उनको अभिनय क्षमताका प्रशंसक धेरै छन् र जुझारु स्वभावका उनी रजतपटमा स्थापित हुन संघर्षरत छन् भन्दा अत्युत्ति नहोला ।
संयम पुरी
रजतपटको लागि नयाँ नाम होइन संयम पुरी । फिल्म ‘सायद’बाट डेब्यु गरेर चर्चा कमाएका कलाकारको सुचीमा उनको नाम अग्रपंक्तिमै आउँछ । उनी निर्माता–निर्देशक नारायण पुरीका छोरा हुन् । संयमले आफ्नो बाबुले अंगालेको फिल्म क्षेत्रमा नै पाइला चाले । आभाष, पुन्टे परेड, ग्यांगस्टार ब्लुजमा उनी देखिए । तर, पहिलो फिल्ममा जस्तो अन्यमा राम्रो प्रतिक्रिया उनले पाएनन्् । त्यसैले पछिल्लो समयमा उनी फुर्सदिला बनेका छन् ।
अरुणीमा लम्साल
कुनै समय रजतपटमा स्थापित तर अहिले गुमनाम रहेको नाम हो अरुणीमा लम्साल । हाल उनीे पारिवारिक जीवनमै सीमित बनेकी छिन् । यिनी कलाकार भाबु लम्सालकी सुपुत्री हुन् भन्ने जानकारी सायद कमैलाई होला । फिल्म ‘यस्तै रहेछ जिन्दगी’बाट डेब्यु गरेकी अरुणिमाले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय कौशल पस्किसकेकी थिइन् । उनी फिल्म क्षेत्रमा आमाको नामभन्दा अलग भएर पहिचान बनाउन सफल भएकी थिइन् तर, एकाएक उनले फिल्म क्षेत्रबाट बिश्राम लिइन् ।
सज्जा मैनाली
कुनै समय रजतपटमा निकै चर्चित नाम थियो, सज्जा मैनाली । हाल यि नायिका गर्दै छिन् भन्ने अत्तोपत्तो फिल्मी क्षेत्रले पाएको छैन । उनी चर्चित हास्य कलाकार गोपालराज मैनालीका छोरी हुन् । थुप्रै नेपाली फिल्ममा मुख्य भूमिकामा देखिएकी सज्जा अहिले यो क्षेत्रबाट पलायन भएकी छिन् । उनलाई रुचाउने र स्मरण गर्ने दर्शक हाल पनि रहेका छन् ।

No comments:

Post a Comment

आज नायक पल शाहको आज जन्म दिन ,जन्मदिनको पूर्वसन्ध्यामा पलले गरे द्वन्दपिडित बालबालिकालाइ सहयोग [भिडियो ]

नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी द्वन्दपिडित बालबालि...