बेलायतबाट सन १९९८मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम हु वान्ट्स टु बी ए मिलिनेयर अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा प्रशारण भईसकेको छ । यही प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) आउँदो मँसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजनमार्फत प्रशारण हुँदैछ । यही कार्यक्रमलाई राजेश हमालले सञ्चालन गर्न लागेका हुन् ।
बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अभिनेता राजेश हमालले भने,‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुलाई खुसी लागेको उनले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा केविसी नेपाल (को बन्छ करोडपति नेपाल)को प्रोमो पनि रिलिज गरिएको छ । प्रोमोमा ‘नमस्कार नेपाल, तपाईहरु सन्चै हुनुहुन्छ’ भन्ने नेपाली सम्बाद सहित कौन बनेका करोडपतिका सञ्चालक एवम् बलिउड अभिनेता अमिताभ बच्चनले को बन्छ करोडपतिलाई सफलताका शुभकामना व्यक्त गरेका छन् । आफुले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कौन बनेका करोडपतिको फ्रेन्चाईजको रुपमा को बन्छ करोडपति नेपालमा सञ्चालन हुन लागेकोमा आफुलाई खुसी लागेको उनले प्रोमो मार्फत बताएका छन् । साथै यो कार्यक्रमको सफलताको कामना समेत उनले गरेका छन् ।
को बन्छ करोडपति कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो । जसका लागि केबिसी नेपाल मोवाईल एप्स डाउनलोड गरेर यसलाई घरमै बसेर पनि खेल्न सकिने पनि जानकारी गराईयो ।
आयोजक विपिन कुमार आचार्यले नेपालीहरुलाई गेम खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आफुहरुले को बन्छ करोडपति नेपाल कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको बताए ।